वर्तमान राजनीतिक व्यवस्था जोगाउन एकता र सहकार्यको आवश्यकता छ: अध्यक्ष नेपाल

ब्रेकिङ न्युज

वर्तमान राजनीतिक व्यवस्था जोगाउन एकता र सहकार्यको आवश्यकता छ: अध्यक्ष नेपाल

 


काठमाडौं  । नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान राजनीतिक व्यवस्था जोगाउनका लागि पार्टीहरूका बिचमा एकता र आपसी सहकार्यको आवश्यकता रहेको बताउनुभएको छ । 

मङ्गलबार सर्वदलीय बैठकमा सहभागी भएर निस्किने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले वर्तमान राजनीतिक व्यवस्थालाई जोगाउनका लागि पार्टीहरूका बिचमा आपसी सहकार्य र एकता आवश्यक रहेको बताउनुभएको हो । उहाँले जनजिविकाको सवालमा पार्टीहरूले देश र जनताको हितलाई सर्वोपरि राखेर अगाडि बढ्नुपर्ने बताउनु भयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था परिवर्तनको आवश्यक नभएको पनि बताउनुभयो । उहाँले वर्तमान व्यवस्थामा सुधारको भने खाँचो रहेको औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, “त्यतिखेर हामीले जुन मान्यता अगाडि सारेका थियौँ, त्यो मान्यता अनुरूप अगाडि बढ्यौँ । जनताको सहयोग, समर्थन, अनुमोदन पनि रह्यो । संविधान निर्माण गर्‍यौँ । व्यवस्थालाई परिवर्तन गर्‍यौँ । गणतन्त्र ल्यायौँ । सङ्घीयताको स्थापना गयौ । यी सबै कुराहरूको सन्दर्भमा यी सबै कुराहरू जनअनुमोदित भइसकेका छन् ।” उहाँले पार्टीहरू बिचमा एकता र आपसी सहकार्यको आवश्यकता रहेकोमा जोड दिनुभयो । 

उहाँले भन्नुभयो, “जनताको समर्थन र जनताको विश्वास प्राप्त गरेको यो व्यवस्थाको बारेमा अरू हिसाबले कसैले केही भन्न बित्तिकै यसको पछि लाग्ने कुरा आउँदैन । पार्टीहरूको बिचमा एकता र आपसी सहकार्यको आवश्यकता छ । व्यवस्थाको सवालमा होस् । चाहे जनताको पीडा र वेदनाको सवालमा होस् । जनताको जनजिविकाको समस्यालाई हल गर्ने कुरामा होस् ।” उहाँले देशमा भ्रष्टाचार, विकृति  र विसंगतिहरुको अन्त्य गर्दै जनताको अवस्थामा पनि आमूल परिवर्तन गर्नुपर्ने बताउनु भयो । उहाँले शान्ति प्रक्रियालाई छिट्टै निष्कर्षमा पुर्‍याउनुपर्ने बताउनुभयो ।

 


Post a Comment

0 Comments