आफ्नो देशका नागरिक ल्याउने भूमिकामा सरकार नचुकोस्: अध्यक्ष नेपाल

ब्रेकिङ न्युज

आफ्नो देशका नागरिक ल्याउने भूमिकामा सरकार नचुकोस्: अध्यक्ष नेपाल

 


दाङ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले इजरायलमा अलपत्र नेपाली विद्यार्थीलाई सरकारले तत्काल सुरक्षित स्थानमा सार्न पहल गर्नुपर्ने बताउनु भएको छ।  

दाङको लमहीमा समाजवादी जागरण अभियानलाई सम्बोधन गर्ने क्रममा उहाँले घाइते तथा अलपत्र नेपालीलाई सरकारले नेपाली जहाज पठाएर ल्याउन पहल थाल्न आग्रह गर्नुभयो। ‘इजरायलको घटनाले दुःखी बनाएको छ, हामी दुःखी छौँ, सरकारले छिटो त्यहाँ रहेका नेपालीलाई सुरक्षित स्थानमा सार्न पहल गरोस्,’ नेपालले भन्नुभयो, ‘नेपाली जहाज पठाएर भए पनि आफ्नो देशका नागरिक ल्याउने भूमिकामा सरकार नचुकोस्।’ 

उहाँले भन्नुभयो, ‘सरकारले मंगलबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको खबर सुनेको छु। इजरायलमा घाइतेको उपचारसँगै मृतकको शवलाई चाँडै नेपाल भूमिमा ल्याउन सरकार लाग्नु पर्छ।’ उहाँले समाजवादी जागरण यात्राले समाजवादको बलियो जग निर्माण गर्ने दाबी गर्नुभयो। कृषि क्षेत्रबाटै मुलुकको समृद्धि हुने जिकिर गर्दै देशमै रोजगारीको अवसर सृजना गर्न सरकारले ध्यान दिनुपर्ने नेपालले बताउनु भयो। ‘कुशासन हट्नुपर्छ,अनि देश अघि बढ्छ,’ उहाँले भन्नुभयो, ‘यसका लागि समाजवादको बलियो आधार चाहिन्छ। त्यही आधार बनाउन हामी हिँडेका छौँ।’ 

नेपालले समाजवादी जागरण यात्रा एक हजार दुई सय किलोमिटर पार गरेर टुंगिने बताउनु भयो। असोज १४ गते पूर्वी झापाबाट सुरु भएको यात्रा असोज २९ गते सुर्खेत पुगेर टुंगिने छ। कार्यक्रममा पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डेले सम्बोधन गर्दै समाजवादी जागरण यात्राले नयाँ ऊर्जा थपेको दाबी गर्नुभयो।

दाङमा पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री तथा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायतका नेता सहभागी हुनुहुन्छ। 


Post a Comment

0 Comments