सामाजिक सद्भाव खलबलिने काममा नलाग्न अध्यक्ष नेपालको अपिल

ब्रेकिङ न्युज

सामाजिक सद्भाव खलबलिने काममा नलाग्न अध्यक्ष नेपालको अपिल

 


जनकपुर। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सामाजिक सद्भाव खलबलिने काममा नलाग्न सबैलाई अपिल गर्नुभएको छ। 

समाजवादी प्रेस संगठन मधेश प्रदेशले आज जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले अशान्ति मच्चाउने मनसायले देशका विभिन्न भूभागमा सामाजिक सद्भाव प्रतिकूलका क्रियाकलाप भइरहेकाप्रति चिन्ता व्यक्त गर्दै त्यस्ता संविधानविरोधी काममा नलाग्न सबैलाई आग्रह गर्नुभयो।
 
अहिले सामाजिक सद्भाव खल्बल्याउने मनासायले विभिन्न धर्म, सम्प्रदाय र परम्पराका नाममा फाटो ल्याउने काम भइरहेका छन्। धरान, सर्लाहीको मलंगवा र नेपालगञ्जमा त्यही मनसायका साथ भइरहेका क्रियाकलापले हामीलाई चिन्तित बनाएको छ’, अध्यक्ष नेपालले भन्नुभयो,‘यि कदमहरु जुनसुकै नाममा र आवरणमा भए पनि शदियौदेखि मिलेर बसेको समाज र नेपालको संविधानको मर्मविरुद्धमा छन्। यसले एकता खल्बल्याउने र प्रतिगमनलाई प्रशर्य दिने काम हुन थालेको छ। त्यसैले हामी सबै नेपाली एक हौ भन्ने भावनाका साथ मिलेर बस्न सबैलाई अपिल गर्दछु।’

पार्टीले सञ्चालन गरेको ‘समाजवादी जागरण अभियान-२०८०’ का क्रममा जनकपुरधाम पुग्नुभएका अध्यक्ष नेपालले विभिन्न नाममा देखिन थालेका निराशा एवं आक्रोसलाई सम्बोधन गर्न समाजवादी नीति, कार्यक्रम, योजना, बजेट र क्रियाकलापको विकल्प नरहेको बताउनुभयो।
 
राजनीतिक क्रान्ति सफल भए पनि आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्न बाँकी रहेको भन्दै अध्यक्ष नेपालले समाजवादका मूल्य मान्यतालाई आत्मसात गर्दै नेपालको संविधानमा सहमतिका साथ लिपिवद्ध गरेको प्रतिवद्धताप्रति सबै इमान्दार बन्नुपर्ने धारणा राख्नुभयो।
 
राजनीतिक परिवर्तन त भयो तर देशको आवश्यकता र जनचाहना सम्बोधन गर्न आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका समाजवादी नीति, कार्यक्रम दिनसकिएको छैन । पर्याप्त रोजगारी र सुशाशनमार्फत समृद्धि हासिल गर्ने कुरामा हामी चुकिरहेका छौ । सबैका लागि राज्य भन्ने मान्यतालाई स्थापित गर्न धेरै काम गर्नुपर्ने छ । सही राजनीतिक दृष्टिकोण र विचारले मात्रै समकालीन समस्याबाट निकास दिनसक्छ । त्यसैले म सबै राजनीतिक दल र परिवर्तन पक्षधरहरुलाई वर्तमान निराशालाई चिर्ने गरी काम गर्न आग्रह गर्दछु।”

एकअर्को प्रशंगमा अध्यक्ष नेपालले नेपाली कांग्रेसबिनाको सरकार कल्पना गर्न नसकिने भन्दै वर्तमान गठबन्धनले सहमतिका आधारमा आफ्नो कार्यभार पूरा गर्नेसमेत स्पष्ट पार्नुभयो। “वर्तमान प्रचण्ड नेतृत्वको सरकारले राम्रा काम गर्न खोजे पनि पर्याप्त भएन। त्यसैकारण सरकारलाई दवाव, सुझाव र सहयोग गरी अगाडि बढ्न सबैले इमान्दार प्रयत्न गर्न जरुरी छ । त्यसमा हाम्रो पार्टी प्रतिवद्ध छ”, अध्यक्ष नेपालले भन्नुभयो।
  
एकीकृत समाजवादीले यही असोज १४ गतेदेखि झापाको मेचीनगरबाट ‘समाजवादी जागरण अभियान—२०८०’ सुरु गरेको छ । यो अभियान असोज २९ गते कञ्चनपुर पुगेर समाप्त हुने छ। ‘रोजगारी, समृद्धि र सुशासन’ को नाराका साथ सुरु भएको अभियानका क्रममा पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म पुगेर समृद्धि र समाजवादका बारेमा जागरण ल्याउने अभिप्राय रहेको अध्यक्ष नेपालको भनाइ छ।
 
समाजवादी प्रेस संगठन मधेश प्रदेशका अध्यक्ष प्रविण साहको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पार्टी महासचिव घनश्याम भुसाललगायत नेताहरुको समेत उपस्थिति रहेको थियो।
 
त्यस्तै, आगामी माघमा पार्टीको महाधिवेशन हुने भन्दै महाधिवेशनअघि जनताको सुझाव सङ्कलनका रूपमा पनि यो अभियान रहेको उहाँले उल्लेख गर्नुभयो। यस अभियानको क्रममा बेरोजगारी समस्याको समाधान, कृषिको विकास, उद्योग क्षेत्रको विकास र पूर्वाधार निर्माणको सम्बन्धमा पनि पार्टीको योजना सुनाउँदै जनताको सल्लाह, सुझाव पनि सुन्ने उहाँले बताउनुभयो। वर्तमान राजनीतिक दलहरूमा समाजवादमा कसरी पुग्ने भन्ने कुरामा अस्ष्टता रहेको भन्दै आफूहरू भने स्पष्टतासाथ अघि बढेको बताउनुभयो।

 


Post a Comment

0 Comments