काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष
माधवकुमार नेपालले देशमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा वैदेशिक हस्तक्षेप बढ्न
थालेको बताएका छन् । रौतहटबाट समाजवादी जागरण अभियानको पाँचौ दिनको अभियानको सुरू
गर्नुअघि पत्रकारसँगको कुराकानीमा उनले सीमा विवाद वार्ताबाट समाधान गर्नुपर्ने
बताए ।
नेपालले भने, ‘लिम्पियाधुरा,
कालापानी र समेटिएको नेपालको नक्सालाई भारतले मान्नु पर्दछ । हाम्रो
भूमि फिर्ता गर्नुपर्छ । चीनले पनि हाम्रो नयाँ नक्सालाई मान्यता दिनुपर्दछ ।’
श्रमजीवी जनताको
हितका लागि र समग्र देशको हितको लागि सदन र सरकारको मोर्चामा संघर्ष गरिरहेको उनको
भनाइ थियो ।
नेपालले भने, ‘पूँजीपतिको
स्वार्थमा मात्र नीति नबनोस् भनेर हामीले प्रधानमन्त्रीलाई भनिरहेका छौं । त्यसका
लागि हामीले संघर्ष गरिरहेका छौं । हामी अहिले मोर्चा र गठबन्धनलाई छोडेर जानेवाला
छैनौं ।’
उनले अहिले देशको अर्थतन्त्रमा
संकट देखा परेकोबारे पनि प्रधानमन्त्रीलाई तत्काल समाधानको लागि पहल गरेको बताए ।
नेपालले मिटरव्याजपीडितको पक्षमा पार्टी दृढ भएर लागिरहेको समेत बताए ।
उनले गुन्डा नाइके
रिगल भनिने योग ढकाललाई आममाफी दिने सरकारको निर्णयमा आफूहरूको सहमति नभएको बताए ।
उनले भने, ‘नेपालगञ्जका
एक अपराधीलाई आममाफी दिने कुरामा हाम्रो सहमति छैन । हामीसँग सरकारले कुरा गरेर
जानकारी गराएको पनि छैन ।’
सामाजिक सद्भाव
जोगाउने पक्षमा पार्टी दृढ रहेको नेपालले बताए ।
0 Comments